अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय


काठमाडौं-नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाउने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र कम्युनिष्ट एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको हो।

बुधबार बिहान देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठमा बसेको कार्य सम्पादन बैठकले नेपालको संविधानको धारा ७६ (२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको स्पष्ट पारेको हो।

बैठकले प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने ठहर समेत गरेको छ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलबीच भएको सहमतिलाई पनि अनुमोदन गरेको थियो।