अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी सरकारबाट एमाले बाहिरिंदै 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी सरकारबाट एमाले बाहिरिंदै 

समर्थन पनि फिर्ता लिने


 काठमाडौं-केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमाले लुम्बिनीले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले पार्टीको तर्फबाट मुख्यमन्त्री महरालाई भेटेर राजनीतिक परिस्थित परिवर्तन भएकाले राजीनामा दिएर मार्गप्रशस्त आग्रह गर्नुभएको हो।

एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकार अल्पमतमा पर्नूअघि नै मुख्यमन्त्रीले राजीनामा दिँदा राजनीतिक उचाई पनि कायम रहने प्रमुख सचेतक चौधरीले बताउनुभयो । उहाँले आफ्ना मन्त्रीहरु र मुख्यमन्त्रीले सँगै राजीनामा दिएर अघि बढ्दा राम्रो सन्देश जाने सुझाव दिनुभयो।

एमालेका मन्त्रीहरुले राजीनामा दिने विषयमा पार्टी केन्द्रसँगको समन्वयमा अगाडि बढ्ने चौधरीले बताउनुभयो।

२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन्। एमालेले समर्थन फिर्ता लिएको अवस्थामा महरासँग १८ मात्र सांसद हुनेछन् । बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरी ८७ सांसद रहेका छन्।

एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्यले आर्थिक मामिलासहित दिनेश पन्थी आन्तरिक मामिला तथा कानून मन्त्री, भूमिश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्रालय, अर्जुन कुमार केसी वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्री सामाजिक विकास मन्त्री हुनुहुन्छ। उपनेता आचार्यले आजै सबै मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनु भयो।