अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने अध्यक्ष ओलीको घोषणा

एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने अध्यक्ष ओलीको घोषणा


बुटवल-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताउनु भएको छ।

बिहीवार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उहाँले सो घोषणा गर्नुभएको हो। अध्यक्ष ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताउनुभयो।

एसईई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने अध्यक्ष ओलीले बताउनु भयो। उहाँले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अब मौका परीक्षा दिने विद्यार्थीलाई खुशी म के साट्न चाहन्छु भने उहाँहरुलाई उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका कक्षाहरु अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ। देशभर नै निःशुल्क उपलब्ध गराइनेछ। ताकी उहाँहरुले काठमाडौंबाट गुणस्तरीय शिक्षकहरुबाट अनलाइनमार्फत उहाँहरुलाई शिक्षा दिनुहुनेछ।’

अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गर्नुभयो। उहाँले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताउनुभयो।

उहाँले शिक्षकहरूलाई समय अनुसारको सीप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरामा कमी भएको यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो। शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको अध्यक्ष ओलीको भनाई छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उहाँले बताउनुभयो।

असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने ओलीले बताउनुभयो। विश्वमा यस्ता धेरै उदाहरण रहेको उहाँले प्रष्ट पार्नुभयो। आफूमा आत्मविश्वास जगाएर काम गर्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो । घमण्ड मस्तिष्कमा पसेपछि दिमागमा ज्ञान पस्न नसक्ने बताउँदै उहाँले परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई दिमागको कुनै पनि कुनामा घमण्ड नराख्न आग्रह गर्नुभयो। निरन्तर ज्ञान प्राप्त गर्ने कोसिसमा लाग्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो। नियमित अध्ययन नगर्ने हो भने कुनै पनि डिग्रीले काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो।