अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन: ठाकुर गैरे

अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन: ठाकुर गैरे


काठमाडौँ-नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने बताउनु भएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो।

देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आरोप लगाउनु भयो।

‘सरकार अल्पमतमा परेको छ। देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ। अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘यही सदनमा पनि तर्क वितर्क गरिँदै छ। बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन। देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ।’

सांसद गैरेले प्रधानमन्त्री प्रचण्डलाई गायक मुरलीधरको उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिनुभयो।

यसअघि नेकपा एमालेका मन्त्रीहरूले बालुवाटारमा राजीनामा बुझाउन जाँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले’ बोलको गीत गाउनु भएको थियो।  

उक्त विषयको प्रसंग उप्काउँदै गैरेले भन्नुभयो, ‘सरकार अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले ? भन्दै गीत गाएर बसेको छ। बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’

उहाँले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गरिदिन आग्रह गर्नुभयो ।

‘सरकारको कुरा के गर्नु, मैले बेला बेलामा पढ्दै आएको रोम जलिरहेको बेला निरोले बाँसुरी बजाएर बसेको जस्तै प्रधानमन्त्री यतिबेला बाँसुरी बजाएर बसिररहनु भएको छ।’