अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो: अशोक राई

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो: अशोक राई


काठमाडौँ-जनता समाजवादी पार्टी जसपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले विश्वास र अविश्वासको मत सामान्य र संसदीय अभ्यास रहेको बताउनुभएको हो।

उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने जानकारी गराउनुभयो। ‘जसपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अहिले विश्वास अविश्वासमा र अविश्वास विश्वासमा छिटोछिटो परिणत हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘विश्वास र अविश्वासबाट मुलुकको राजनीति गुज्रिरहेका बेला सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन।’

सांसद राईले नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकको हितका लागि सहमति गरेको विश्वासका आधारमा समीकरणलाई समर्थन गरेको बताउनुभयो। ‘संविधान संशोधन गर्नुपर्छ, अझै अग्रगामी किसिमले अगाडि लानुपर्छ, दुई ठूला दलसँग संविधान संशोधनका सवालमा छलफल गर्न तयार छौँ’, उहाँले भन्नुभयो।