अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल

दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ। विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो। किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उहाँले पहल सुरु गर्नुभएको हो।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई आज मुख्यमन्त्री कार्कीले कार्यालयमा बोलाएर रकम उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको हो । सरोकारवालालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले आयोजनाको कार्यप्रगति, संस्थाको अवस्था र बजारका विषयमासमेत छलफल गर्नुभएको थियो।

मुख्यमन्त्री कार्कीले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने तथा पूर्णरुपमा सञ्चालन र बजारीकरण गर्न सङ्घीय सरकारसँग छलफल गरेर आगाडि बढ्ने बताउनुभयो । 

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा भएको उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर तथा मधेस प्रदेशको सप्तरीका किसानलाई रु ३२ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा समस्या भएकाले अहिलेको अवस्था आएको बताउनुभयो । आयोजनाले दूध प्रतिलिटर रु ९८ मा बिक्री गरिरहेको छ।