अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त कानुनमन्त्री अजय चौरसियाद्वारा पदबहाली

नवनियुक्त कानुनमन्त्री अजय चौरसियाद्वारा पदबहाली


काठमाडौँ-नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ। पदबहालीपश्चात् उहाँले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताउनुभयो।

‘कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ’, मन्त्री चौरसियाले भन्नुभयो।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रुपमा उहाँको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो। मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो। उहाँ २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र-३ बाट निर्वाचित हुनुभएको थियो। उहाँसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उहाँ २०६२/६३ को जनआन्दोलनमा पटकपटक थुनामा पर्नुभएको थियो । सो क्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बस्नुभएको थियो। उहाँ हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुहुन्छ।