अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु: उपप्रधानमन्त्री सिंह

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु: उपप्रधानमन्त्री सिंह


काठमाडौँ-नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसद्मा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिनुभयो।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ।’ विगतमा जनअपेक्षाअनुरुप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उहाँले जनहितका काम र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँ मन्त्रालय पुग्नुहुँदा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गर्नुभएको थियो।

विद्यार्थी राजनीतिदेखि उपप्रधानमन्त्रीसम्म

नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्रका रुपमा सिंहको जन्म २०१२ वैशाख १ गते काठमाडौँमा भएको हो । विज्ञान विषयमा स्नात्तकोत्तर उहाँ  २०३० सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा प्रवेश गर्नुभएको थियो।

नेपाली कांग्रेस काठमाडाँै जिल्ला कार्यसमितिको नेतृत्व गर्दै पार्टी केन्द्रीय सदस्य बन्नुभएका सिंहले नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको जिम्मेवारी समेत सम्हाली सक्नुभएको छ। उहाँले यसअघि जनसङ्ख्या तथा वातावरण, स्थानीय विकास, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हाली सक्नुभएको छ। पछिल्लो समय नेता सिंह काठमाडौँ क्षेत्र-१ बाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ।