काठमाडौँ-नवनियुक्त वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई जनताको जीविकोपार्जन र मुलुकको समृद्धिसँग जोड्नेगरी काम गर्ने बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुहुँदै उहाँले वन तथा वनस्पतिको संरक्षणसँगै यसलाई जनताको जीविकोपार्जनसँग पनि जोड्न आवश्यक रहेकामा जोड दिनुभयो। मन्त्री शाहीले मन्त्रालयसँग सम्बन्धित कामलाई परिणाममुखी बनाउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।
उहाँले जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रीयकरण गर्न सक्दो प्रयास गर्ने बताउनुभयो। जैविक विविधतालाई संरक्षण गर्दै पर्या-पर्यटनको विकासमा योगदान पुग्नेगरी काम गर्ने उहाँको प्रतिबद्धता थियो। मन्त्री शाहीले नियमकानुनले मिल्नेबाहेकका काममा आफूले कुनै दबाब नदिने तर कानुनअनुसार कर्मचारीले कुनै आनाकानी नगरी परिणाममुखी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले वनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनेगरी योजना बनाइने बताउनुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मन्त्री शाहीलाई स्वागत गर्दै आफ्ना धारणा राख्नुभएको थियो भने मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाले मन्त्रालय र मन्त्रालय मातहतका निकायबारे जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया