अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापावासी भन्छन्– प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ

झापावासी भन्छन्– प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ


झापा-चौथोपटक प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन्।

प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन्। नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्त्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ। साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ।’

उहाँले विगतमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको धारणा राख्नुभयो।

दमक नगरपालिकाका प्रमुख राम थापाले आफूले भोट दिएर जिताएको व्यक्ति पुनः प्रधानमन्त्री बन्नुभएकामा खुसी लागेको भन्नुहुँदै जिल्लाका अधिकांश अपूरा र अधुरा विकास निर्माणका कामले पूर्णता पाउने आशा पलाएको बताउनुभयो।

नगरप्रमुख थापाले प्रधानमन्त्री ओली यसअघि सुरू गर्नुभएको औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले अब बाँकी कामलाई पूर्णता दिन उहाँले ध्यान दिनुहुनेमा आफूहरु विश्वस्त रहेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘रवि चिसापानी सडक विगत १५ वर्षदेखि बन्न सकेको छैन, अब सडकले गति लिनेछ। अरू योजना पनि अगाडि बढाउन भेटेरै प्रस्ताव गर्ने योजना छ।’

समाजसेवी हरिचरण बानियाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण, औद्योगीकरण र शिक्षामा आमूल परिर्वतन गरी युवालाई विदेश पलायनबाट रोक्न ध्यान दिनुपर्ने सुझाव दिनुभयो।