अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

प्रतिनिधिसभामा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने


काठमाडौं-प्रतिनिधि सभामा यही साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्‍मा पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो।

सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफलपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर साउन ७ गर्ने तयारी भएको हो। 

सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई आज बस्ने संसदको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने संसद सचिवालयले जनाएको छ। 

कार्यतालिकामा यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ। 

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था छ। नियमावलीले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरेको छ। 

सभामुख र दलहरुबीचको परामर्शमा तय भएको कार्यतालिकामा साउन ६, ७ र ८ गते प्रतिनिधि सभा बैठक बस्ने। यस्तै ९, १० र ११ गते समिति सञ्चालनको समय तोकिएको छ। 

त्यसैगरी साउन दोस्रो साताको १३, १४ र १५ गते पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव गरिएको छ। औपचारिक रूपमा कार्यतालिका भने आजको बैठकबाट टुंगिने छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतबार (साउन ६ गते) विश्वासको मत लिने तयारी गर्नुभएको छ।