अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरू गरेका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कँडेल

सुरू गरेका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कँडेल


कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरू गरिएका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २६औँ बैठकलाई सम्बोधन गनुैहुँदै उहाँले समयमा काम हुँदैन भन्ने भाष्यको अन्त्य गरी थालिएका काम सकिएको विवरण दिने गरी सरकार अगाडि बढ्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “व्यवस्था बदलियो, संविधान निर्माण भयो। संविधान राम्रो हुँदा त्यसको सही कार्यान्वयन नहुँदा नागरिकले प्रत्याभूति गर्ने गरी काम भएको देखिदैन। यसतर्फ ध्यान दिनुपर्छ।’

कर्णालीमा जनशक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्नतर्फ सरकारको ध्यान गएको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश लोकसेवा आयोगबाट जनशक्ति व्यवस्थापन गर्न विशेष सहजीकरण गर्ने बताउनुभयो। ‘जनशक्ति व्यवस्थापनमा समस्या छ, उपलब्ध जनशक्तिले पनि उत्साहित भएर काम गर्न सकेका छैनन्। त्यसैले काम गर्नेहरूले मुद्दा खेप्नुपर्ने अवस्था आउन नदिने, तोकिएको काम पूरा नगर्नेलाई जिम्मेवारी दिने, मूल्याङ्कनको परिपार्टीलाई व्यवस्थित बनाएर लैजाने पद्धति बसाल्ने र अब काम गर्दा समय मै भुक्तानी हुन्छ भन्ने मानक तयार गर्न मेरो जोड रहने छ”, मुख्यमन्त्री कँडेलको भनाइ थियो।

कानुनी र नीतिगत प्रबन्धमार्फत आगामी योजना बनाइने भन्नुहुँदै उहाँले व्यवस्थित र पारदर्शी योजना छनोट गर्ने पद्धति बसाल्ने र विकास तथा समृद्धिका सपनालाई पूरा गर्न आवश्यक कानुन निर्माण गरिने प्रतिबद्धता व्उक्त गर्नुभयो। मुख्यमन्त्री कँडेलले संविधानले निर्धारित गरेका अधिकारका विषयमा दुवै तहसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने जनाउनुभयो। उहाँले अनियमित विद्युत्को समस्या समाधानका लागि कोहलपुर-सुर्खेतको १३२ केभी प्रसारणलाई व्यवस्थित बनाउन सहजीकरण गर्ने बताउनुभयो।

‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ भन्ने सरकारको कार्यक्रमलाई नवीनतम ढङ्गले अगाडि बढाउने, विगतका योजनाबाट प्राप्त प्रतिफलमाथि समीक्षा, विकास नागरिकका लागि हो भन्ने बुझाइ निर्माण, विकासको माग मन्त्रालयमा नभई स्थानीय निकायमा जाने संस्कृतिको विकास र प्रदेश रणनीतिक महत्वका ठूला आयोजनाका लागि सङ्घीय सरकार तथा केन्द्रीय नेतृत्वसँग आवश्यक समन्वय र सहकार्य गर्ने उहाँको भनाइ छ।