अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेश संकटका बारेमा एमाले केन्द्रीय सदस्य थापाको विष्लेषण : भुटानी शरणार्थी प्रकरण दोहोरिन सक्छ,सजग बनौं

बंगलादेश संकटका बारेमा एमाले केन्द्रीय सदस्य थापाको विष्लेषण : भुटानी शरणार्थी प्रकरण दोहोरिन सक्छ,सजग बनौं


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले बंगलादेश संकटले नेपालमा ल्याउन सक्ने नयाँ असरका बारेमा सचेत हुनुपर्ने बताउनुभएको छ । बंगलादेशमा सरकार विरुद्धको हिंसा चर्किएपछि देश छोडेर प्रधानमन्त्री हसिना बेगम भागेको भोलिपल्ट थापाले एक भिडियो सन्देश जारी गर्दै झण्डै ३२ वर्ष अघिको एउटा घटनातर्फ संकेत गर्नुभएको छ । करिब १२ करोड जनसंख्या रहेको बंगलादेशबाट लाखौं हिन्दूधर्मीहरु शरणार्थीका रुपमा नेपाल पस्न सक्नेतर्फ सचेत हुनुपर्ने उहाँको धारणा छ ।
सन् १९९२ मा भुटानमा त्यहाँको सरकारले आफ्ना नागरिकलाई जोंखा भाषा बोल्न अनिवार्य गरेपछि करिब सवा लाख नेपाली भाषी देश छोडेर नेपालमा शरणलिन आएका थिए ।
थापाले उक्त घटनातर्फ संकेत गर्दै बंगलादेशबाट पनि हिन्दुधर्मीहरु नेपालमा ठूलो संख्यामा पस्न सक्ने संकेत गर्नुभएको छ ।

विगतमा भारतको बाटो हुँदै भूटानीहरु नेपाल पसे जस्तै अहिले पनि म्यानमारबाट रोहिंगिया मुसलमान शरणार्थी नेपाल आइरहेको स्मरण गर्दै थापाले बंगलादेशबाट पनि शरणार्थीको ओइरो लाग्ने आशंका गर्नुभएको हो ।
बंगालदेशीहरु नेपाल भित्रनेतर्फ सरकार सजग हुनु पर्ने थापाको धारणा छ । उहाँले बंगलादेशसँग नजिकैको सिमा क्षेत्रको काकरभिट्टा नाकामा कडाइ गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ ।
बंगलादेशको एउटा भाग र म्यानमारको अर्को भाग टुक्राएर त्यसलाई क्रिश्चियन देश बनाउन खोजिएको शेख हसिनाले तीन महिना अघि बताउनुभएको थियो । त्यो प्रसंग उल्लेख गर्दै थापाले पदमा बसिरहेकी शक्तिशाली प्रधानमन्त्रीको मुखबाट यो कुरा सुनेर आफूलाई आश्चर्य लागेको भिडियो सन्देशमा उल्लेख गर्नुभएको छ ।

केन्द्रीय सदस्य थापा भन्नुहुन्छ– ‘विश्वमा पूर्ण सन्तुष्ट र खुसी जनता कुनै पनि देशमा छैनन् । बंगलादेशका जनता पनि सन्तुष्ट थिएनन् । यद्यपी विश्वलाई नै चकित पार्ने गरी बंगलादेशले आर्थिक विकास गरिरहेको थियो । बंगलादेशमा लोकतन्त्र त थियो तर सबल थिएन । बंगलादेशी राजनीतिमा सधैं सैनिक शासनको छायाँ पर्दै आएको थियो । एकातिर सैनिक शासनको छायाँ, अर्कातिर अवामी लिगकी शेख हसिनाको एकतन्त्रीय सरकार । यसले गर्दा बंगलादेशमा उकुसमुकुसको वातावरण थियो । प्रतिपक्षी कित्तालाई निषेध गरिएको थियो । यो कारणले गर्दा त्यहाँका जनताको धैर्यको वाँध कुनै पनि बेला टुट्न सक्थ्यो । अहिले आएर टुट्यो ।’

बाहिरबाट हेर्दा बंगलादेशमा जे भयो त्यहाँका जनताले नै गरे भन्न सकिन्छ तर आजको जटिल विश्व राजनीतिमा कुनै पनि घटनालाई सतही आँखाले मात्र हेरेर नपुग्ने भन्दै थापा भन्नुहुन्छ– ‘बंगलादेशमा कुनै न कुनै गडबडी हुन गइरहेको छ भन्ने संकेत बारम्बार मिलेको थियो । शेख हसिनाको सरकारलाई मात्र नभएर बंगलादेश राष्ट्रमाथि नै कुनै खतरा आउँदैछ भन्ने कुरा भूराजनीति बुझेकाहरुले भन्दै आएका थिए ।’

कुनै पनि देशलाई टुक्राउनु छ भने त्यसलाई हिंसा र अस्थिरतामा फसाउनुपर्ने हुन्छ । यही काम बंगलादेशमा गरिएको हो कि होइन भन्ने प्रश्न उठाउँदै थापाले आगामी दिनको घटनाक्रमले तथ्य देखाउने बताउनुभएको छ ।

बंगलादेशमा हिँसा रोकिएन, विदेशी चलखेल तिब्र बन्दै गयो भने त्यहाँ गृहयुद्धको हालत हुने विष्लेशण गर्दै थापा भन्नुहुन्छ– ‘त्यो अवस्थामा त्यहाँका लाखौं हिन्दू प्रभावित हुनेछन् । अहिले नै खबर आउन थालिसक्यो, बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार भइरहेछ । हिन्दूहरुको घर जलाइँदै छ । यो अवस्था नियन्त्रण भएन भने त्यहाँका हिन्दूहरु आसाम र बंगाल प्रान्त भएर भारत भित्रनेछन् । लाखौं शरणार्थी ओइरिँदा उनीहरुको सानो हिस्सा नेपाल पस्यो भने के हुन्छ ? यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो ध्यान दिनुपर्छ । नेपालको पूर्वी नाका काकडठभिट्टा सहित विभिन्न नाकामा सुरक्षा र आवतजावतमा कडाई गर्न आवश्यक छ ।’

देशभित्रको असन्तुष्टि र देश बाहिरको स्वार्थ मिलेपछि कति विकराल अवस्था आउँछ भन्ने बंगलादेशमा देखिएको विचार राख्दै थापाले बंगलादेशको भौगोलिक अखण्डता बचाउन नेपालले सहयोग गर्नुपर्ने विचार राख्नुभएको छ ।