अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेश घटनाले राजनीति गर्नेका लागि जनभावनालाई आत्मसाथ गर्नुपर्ने शिक्षा दिएको छ: शंकर पोखरेल

बंगलादेश घटनाले राजनीति गर्नेका लागि जनभावनालाई आत्मसाथ गर्नुपर्ने शिक्षा दिएको छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलेले विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने बताउनुभएको छ।

बुधबार आयोजित पार्टीको जनसंगठन संयन्त्रको बैठकमा बोल्दै महासचिव पोखरेलले पछिल्लो अवधिमा शेख हसिनाको नेतृत्वमा बङ्गलादेशले गरेको विकास र समृद्धि दक्षिण एसियाकै नमूना विकास भएको बताउनुभयो।

त्यति हुँदाहुँदै पनि हसिनाले देशबाटै लखेटिनु पर्ने स्थिति आएको पोखरेलले बताउनुभयो। ‘एउटा मुद्दाले उहाँले देश छाड्नु पर्‍यो’, पोखरेलले भन्नुभयो।

त्यो घटनाले राजनीति गर्नेले जनभावनालाई आत्मसाथ गर्नुपर्ने शिक्षा लिनुपर्ने पोखरेलको भनाइ छ। ‘जनभावनालाई आत्मसाथ गर्ने कुरा राजनीति गर्नेका लागि महत्त्वपूर्ण शिक्षा हो भन्ने कुरा देखाउँछ, विकास र समृद्धिका मुद्दाले मात्रै सबै कुरा हल हुँदैन’, पोखरेलले भन्नुभयो।

आज बङ्गलादेशमा जुन प्रकारको राजनीतिक परिवर्तन भएको छ, त्यो अस्वाभाविक भएको पोखरेलले बताउनुभयो। तर जनताले नै अस्वीकार गरेपछि शासन गर्ने अर्को आधार हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । बङ्गलादेशमा चुनावको बेला दुईतिहाई मत ल्याउन सफल पार्टीले केही समय पछि सत्ता छाड्नु पर्ने स्थिति आउनु जनताको मुड कतिखेर परिवर्तन हुन्छ भन्ने कुरा भन्न नसकिने उदाहरण भएका पोखरेलले सुनाउनुभयो।

एउटा घटनाले जनताको भावना कति चाँडो परिवर्तन हुन सक्छ भन्ने कुरालाई सधैँ ख्याल राख्नु पर्ने पोखरेलले बताउनुभयो । यस्तो परिस्थितिलाई विश्लेषण गरेर जनसंगठनहरुलाई पार्टीलाई बेलाबेलामा सुझाव दिन पोखरेलले आग्रह गर्नुभयो।

बङ्गलादेशमा एकल शक्ति निर्माण भइसकेको अवस्था भएको बताउँदै पोखरेलले नेपालमा बलियो स्वीकार्य राष्ट्रिय शक्ति समेत बन्न नसकेको बताउनुभयो । ‘यहाँ शक्ति नै बनेको छैन, त्यहाँ शक्ति केन्द्रिकरण भएर दुरुपयोग भन्ने कुरा हो’, उहाँले भन्नुभयो ।

सामाजिक मनोविज्ञानलाई प्रभाव पार्ने विषय भने सबै ठाउँमा कुनै न कुनै हिसाबले उस्तै हुने कुरामा भने सचेत हुनु पर्ने पोखरेलले बताउनुभयो। त्यसले सामाजिक सञ्जाललाई सही बाटोमा डोर्‍याउने कुरामा जनसंगठनको भूमिका महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो।