विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्ने बताउनुभएको छ।
बुधबार साँझ नेपाल निजामती कर्मचारी संगठनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको वृत्ति विकास र सन्तुलन कायम राख्ने गरी काम गर्ने बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘संघीय निजामती ऐन नआएका कारण प्रदेशमा निजामती ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्न सकिएको छैन। जसले गर्दा हरेक पटक कर्मचारीका विषयमा समस्या आइरहेको छ।’ मुख्यमन्त्री कार्कीले निजामती ऐन नआउँदा संघीयता कमजोर हुने खतरा रहेको औंल्याउँदै केन्द्रमा निजामती ऐन ल्याउनका लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो।
संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको चर्चा गर्दै उहाँले प्रदेशलाई बलियो बनाउन कर्मचारीको साथ र सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो ‘कर्मचारी स्थायी संरचना हुन्, तपाईंहरुले सहयोग गर्नुहोस्, यसलाई बलियो बनाएर लैजानुपर्छ।’
प्रदेशका कर्मचारी सरुवा बढुवामा अन्याय हुन नदिने र कार्यालय प्रमुखको एक वर्ष र अन्य कर्मचारीको दुई वर्षमा सरुवा गर्ने नीति लिइने उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रमा निजामती ऐन नआउँदा प्रदेशमा फरक फरक ऐनहरु आएको र त्यसले फरक अवस्था सिर्जना गरेको बताउनुभयो। कर्मचारीमैत्री र ट्रेड युनियन अधिकार सुनिश्चित हुनेगरी ऐन ल्याउने उहाँले आग्रह गर्नुभयो। सो अवसरमा नेपाल निजामती कर्मचारी संगठनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत सबै मन्त्रीहरुलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका थिए।







प्रतिक्रिया