अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारले जनताका लागि धेरै काम गरिसकेको छ: मुख्यमन्त्री कार्की

कोशी सरकारले जनताका लागि धेरै काम गरिसकेको छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाको परिषद् बैठकलाई बुधबार संबोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई अरुभन्दा श्रेष्ठता हासिल गरेको सरकार र प्रतिस्पर्धामा अब्बल सरकारका रुपमा लैजानु पर्ने बताउनुभयो।

प्रदेश सरकारले जनताका लागि धेरै काम गरेपनि प्रचार हुन नसकेका कारण प्रदेश संरचनाप्रति आलोचना हुने गरेको चर्चा गर्दै उहाँले प्रदेशले गरेका कामलाई हेर्ने हो भने प्रदेश अब्बल रहेको बताउनुभयो।

उहाँले भन्नुभयो ‘पूर्वाग्रह नराखिकन हेर्ने हो भने प्रदेशले धेरै सडक, बाटो बनाएको छ, कार्यसम्पादन पनि उत्कृष्ट छ, खर्च हेर्ने हो भने पनि ८० प्रतिशत हाम्रो प्रदेशले नै गरेको छ तर चर्चा नकारात्मक गरिन्छ।’ ‘बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै हामीले तयार गरेको चामल पनि बिकिरहेको छैन,’ उहाँले भन्नुभयो ‘अब हामीले गरेका काम सबैलाई थाहा हुने गरी देखाउन जरुरी छ।’

नयाँ संरचना भएकाले केही समस्या भए पनि अबका दिनमा प्रदेश संस्थागत हुँदै गएकाले यसले श्रेष्ठता हासिल गरेर काम गर्ने उहाँको भनाइ थियो।

बैठकमा परिषद्का कार्यकारी निर्देशक बिष्णुकुमार कार्कीले प्रतिष्ठानका विविध विषयमा जानकारी दिनुभएको थियो। परिषद् बैठकले परिषद्लाई मार्गदर्शन गर्ने गरी विभिन्न निर्णय गरेको छ।