अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक: शंकर पोखरेल

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दलहरू बलियो हुनुपर्ने बताउनु भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले धेरै भन्दा पनि बलिया दल आवश्यक रहेका बताउनुभयो। ‘धेरै दल होइन बलिया र निर्णायक दलको आवश्यकता छ’, पोखरेलले भन्नुभयो। 

सत्ता राजनीतिमा साना-साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता पैदा भएको उहाँले बताउनुभयो। देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको पोखरेलले स्पष्ट पार्नुभयो। लोकतन्त्रको आधारभूत जग तयार गर्न कांग्रेस एमाले एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो। 

कुनै राजनीतिक दलको एकल बहुमतको अवस्था नरहेको र अझ संविधान संशोधन गर्नुपर्दा दुईतिहाई बहुमत आवश्यक पर्ने भएकोले प्रमुख दल नमिले त्यो आवश्यकता पुरा हुन नसक्ने पोखरेलले बताउनुभयो। स्थायित्व प्रदान गर्ने आधारलाई केन्द्रमा राखेर दुई ठुला दलको सरकार बनेको पोखरेलले स्पष्ट पार्नुभयो। 

मुलुक लगातार आर्थिक संकटमा गएको कारण पनि एमालेले सरकारको नेतृत्व गर्नु परेको उहाँले बताउनुभयो। प्रमुख पार्टी नमिल्दासम्म अहिलेको आर्थिक अवस्थामा सुधार नआउने आवाज उठेपछि त्यसको लागि पनि कांग्रेस एमाले मिल्नु परेको उहाँको धारणा छ । कतिपयले उद्योगी व्यवसायीको कुरा सुनेर कांग्रेस र एमाले मिलेका भनि टिप्पणी गर्ने गरेका बताउँदै पोखरेलले देश बनाउने सवालमा उहाँहरूको कुरा पनि सुनेको स्पष्ट पार्नुभयो। 

पोखरेलले कांग्रेस र एमालेको सरकार बनेपछि केही सकारात्मक सुधारका सङ्केत देखिएको बताउनुभयो। अहिले पुँजीबजारमा उल्लेख्य सुधार आएको, प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको बताउँदै उहाँले अझै पनि आर्थिक क्षेत्रमा भने आशातीत सुधार भइनसकेको बताउनुभयो । यसलाई सुधार गर्दै लैजानु पर्नेमा पोखरेलले जोड दिनभयो। 

पोखरेलले संवैधानिक र कानुनी क्षेत्रमा देखिएका समस्या सुधारका लागि क्रमशः काम गर्दै जाने बताउनुभयो । यसले देशको अवस्थामा थप सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। 

माओवादीलाई समेत समावेश गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने सोच कांग्रेस एमालेको भए पनि प्रचण्ड त्यसमा सहमत नभएको उहाँले बताउनुभयो। देशलाई स्थिरता दिने गरी संविधान संशोधन गर्दा माओवादी पार्टीको स्थान नहुने डर प्रचण्डलाई रहेको पोखरेलको विश्लेषण छ। 

नेपालको वामपन्थी आन्दोलनमा अब अलग अलग दल आवश्यकता नरहेको उहाँले बताउनुभयो। ‘ढिलो चाँडो माओवादी आन्दोलनमा रहेका साथीहरू पनि आउने ठाउँ यही नै हो’, उहाँले भन्नुभयो।