अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः डा. शशाङ्क कोइराला

कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः डा. शशाङ्क कोइराला


काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताउनुभएको छ।

आज यहाँ तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल अफ युथ इन द प्रोसेस अफ बिल्डिङ’ विषयक कार्यक्रममा नेता डा. कोइरालाले युवाको आकर्षण विदेश भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

‘हामीले हाम्रो खेतलाई कृषिमा प्रयोग गर्न सके धेरै युवालाई त्यसले रोजगारी दिन सक्छ, नेपालीले पुग्ने खाद्यान्न त्यही उत्पादन हुन्छ तर हामी हाम्रो घरको युवा विदेशिएकोमा खुसी छौँ। यो राम्रो होइन’, उहाँले भन्नुभयो। युवालाई शिक्षा र रोजगारीका लागि सरकार र सम्बन्धित निकाय गम्भीर नभए आउँदो समय थप अनुत्पादक हुने डा कोइरालाको भनाइ थियो।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संसारभर परिवर्तनका कारक युवा नै भएकाले नेपालमा पनि युवा परिचालनको उचित नीति आवश्यक रहेको धारणा राख्नुभयो। ‘जसरी युवाले देश छाडिरहेका छन्, त्यसलाई नियम कानुनले भन्दा पनि अवसर सिर्जना गरेर रोक्नु अहिलेको आवश्यकता हो’, अध्यक्ष डा केसीले भन्नुभयो। उहाँले प्रवासमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुलाई मात्र सफलता मान्न नसकिने उल्लेख गर्नुहुँदै युवालाई नेपाल फर्किने वातावरण बनाउन आग्रह गर्नुभयो।

बागमती प्रदेशसभा सदस्य याङ्किला शेर्पाले अवसरको खोजीमा बसाइँसराइ गर्ने प्रवृति रहेकाले अवसर सिर्जनामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘युवाहरू अवसर खोज्न गाउँबाट सहर र सहरबाट प्रवासतिर गइरहेका छन्। आफ्नै ठाउँमा अवसर सिर्जना गरेर यो समस्या समाधान गर्न सकिन्छ’, उहाँले भन्नुभयो।

भारतीय प्रोफेसर डा दुर्गसिंह चौहान, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आइजी) सनतकुमार बस्नेत, चलचित्र निर्देशक तथा कलाकार आकाश अधिकारी, पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईलगायतले देशमा युवाको आवश्यकता र उनीहरू विदेशिनुको बाध्यताका विषयमा चर्चा गर्नुभयो।