अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिले प्रमाणित गरेको छ: सभापति देउवा

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिले प्रमाणित गरेको छ: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन टीआरसी विधेयक महत्त्वपूर्ण रहेको बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभा बैठकमा टीआरसी विधेयक माथिको छलफलमा बोल्दै देउवाले शान्ति सम्झौता पछि शान्ति प्रक्रियालाई अघि बढाउन नेपालले मौलिक शैलीमा धेरै काम गरेको देउवाले बताउनुभयो। बाँकी रहेको कामलाई पनि अन्तिम टुङ्गो दिन टीआरसी विधेयकमा राजनीतिक दल बीच साझा सहमति जुट्नुले नेपालले विश्वलाई नयाँ सन्देश दिएको देउवाले प्रष्ट पार्नुभयो। ‘यो जटिल कामलाई नेपाली राजनीतिक दलले आफैँ गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गर्न वर्तमान सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिले प्रमाणित गरेको छ’, देउवाले भन्नुभयो। 

टीआरसी विधेयक सङ्क्रमणकालीन न्यायका मान्यता, अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसला अनुकूल रहेको उहाँले बताउनुभयो। लामो समयदेखि न्याय खोजेर बसेका नागरिकलाई यो विधेयकले न्यायको अनुभूति दिलाउने देउवाले विश्वास व्यक्त गर्नुभयो। सो विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत स्वगत गर्ने देउवाको विश्वास छ। 

शान्ति प्रक्रियाको बाँकी रहेका कामलाई सफल रूपमा सम्पन्न गर्न कानुनका साथै सक्षम आयोग र प्रभाकारी कार्य प्रणाली आवश्यक रहेको बताउनुभयो। त्यसलाई प्रभाकारी बनाउने कुरामा पनि ध्यान दिनुपर्नेमा देउवाले जोड दिनुभयो। 

मुलुकलाई अप्ठेरो पर्दा नेपाली राजनीतिक दलहरू एक ठाउँमा उभिने परम्परा नै बनेको उहाँले बताउनुभयो। शान्ति प्रक्रियाका बाँकी कामलाई पनि निष्कर्षमा पुर्‍याउन सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो। 

सबै दल मिलेर अहिलेको व्यवस्था ल्याएकोले त्यसको सही कार्यान्वयन र सुदृढीकरणमा लाग्नु पनि सबैको दायित्व भएको देउवाले प्रष्ट पार्नुभयो।