अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका: मुख्यमन्त्री कार्की

सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका: मुख्यमन्त्री कार्की


तेह्रथुम-कोशी प्रदेश सरकारको महत्त्वपूर्ण सडक सञ्जालको रूपमा सिधुवा शुक्रबारे सडक बुधवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ। 

कोशी प्रदेश सरकारको रु.८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो। प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। १७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ। यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो।

सडक सञ्जालको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धन सडक महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्नेछ।’

प्रदेश संरचना नयाँ भएपनि यसले महत्वपूर्ण काम गरिरहेको र कोशी प्रदेशको संवृद्धिको लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। ‘नयाँ संरचना हो हामी राम्रा र देखाउन हुने काम गर्ने छौँ’, उहाँले भन्नुभयो ‘आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरु घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिने छौँ।’

मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको थछर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको थियो।