काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोको बनेपा नगरपालिका-६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ। बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका साथै वडाको सहयोगमा रङरोगन गरिँदैछ।
रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन यहाँ रहेको गोसाइँस्थानमा मेला भर्ने गर्दछन्। गोसाइँस्थान धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा रहेको भक्तजन बताउँछन्।
बनेपा-६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको घुइँचो लाग्ने गरेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताउनुभयो। गत वर्षभन्दा यस वर्ष यहाँ भक्तजनको आगमन वृद्धि हुने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो।
‘मेलामा बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्छ। तसर्थ रङरोगन गर्नुका साथै खानेपानी, बत्ती जडान र सुरक्षाका लागि भीड तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी तथा स्वयंसेवक परिचालन गर्नेछौँ। स्वास्थ्य सहायताका लागि सहायता कक्षा राख्नेछौँ’, श्रेष्ठले भन्नुभयो। यहाँ हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने उहाँले जानकारी दिनुभयो।
हिन्दू धर्मसंस्कारअनुसार यहाँ रहेको शिव मन्दिरमा पूजागरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ। यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमकले पूजागरी दर्शन गर्ने गर्दछन्। नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बाँध्ने प्रचलन छ।
रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बताउँछन्। रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय समाजसेवी भैरव केसीले बताउनुभयो।
‘परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो। त्यही क्रममा महादेवको पहिलो बास बनेपा-६, गोसाइँस्थानमा भयो। बिहान भाले बासेपछि रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको कथन छ’, उहाँले भन्नुभयो।
यहाँ लाग्ने जात्रामा महिला र पुरुषबीच दोहोरी गीत गाउने प्रचलन रहेको गोसाइँस्थान संरक्षण समितिका उपसचिव राजु मानन्धरले बताउनुभयो। मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत देशका विभिन्न भेगबाट भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो।
वातावरणीय दृष्टिकोणले आकर्षक
काभ्रेपलाञ्चोकको पुरानो मानिने बजार बनेपाबाट उत्तर–पूर्वीतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारकोबीचमा रहेको धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भका कारण यो डाँडा प्रसिद्ध छ।
बढ्दो सहरीकरण, वातावरण र ध्वनि प्रदूषणबाट शान्ति खोज्न यहाँका हरियाली वनजङ्गलको बीचमा अग्लो मनमोहक स्थान आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका बनेपा-६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । शान्त, रमणीय र मनोरञ्जन लिन आकर्षक स्थान हुनाका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने भएकाले यहाँ पर्यटकको आगमन बढ्दै गएको उहाँले बताउनुभयो।
पर्यटकीय पूर्वाधार वनभोजस्थल (पिकनिक स्पट), सडक, पानी, बिजुलीको सुविधाका साथै थप भौतिक संरचना निर्माणले पनि आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएका वडाध्यक्ष केसीले बताउनुभयो। यहाँ हरेक दिन दृश्यावलोकन स्तम्भ ९टावर० चढ्ने र प्राकृतिक मनमोहकस्थल घुम्न आन्तरिक पर्यटक आउने गरेका उहाँको भनाइ छ।
काठमाडौँ उपत्यकाबाट मात्र २५ किलोमिटरको दूरी रहेको यो ठाउँ अरनिको राजमार्गबाट पाँच सय मिटर भित्र पर्दछ । “गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ क्षेत्र जाने पक्की सडक, चण्डेश्वरीबाट दुई हजार दुई सय सिँढी निर्माण र अन्य थप भौतिक संरचना निर्माणले घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ’, वडाध्यक्ष केसीले भन्नुभयो, “बिहान ‘मर्निङ वाक’ जानेहरुलाई लक्षित गर्दै व्यायाम गर्ने स्थान पनि निर्माण गरिएको छ।’
पछिल्लो समयमा यहाँ नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा पनि राखिएकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पनि विकास हुँदै गएको वडाध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार रामायण भजन गर्ने भवन, पक्की शौचालय, खानेपानीको सुविधालगायत पूर्वाधार निर्माण भइसकेका छन् भने उद्यान निर्माणको तयारी भइरहेको छ ।
गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । धुलिखेलस्थित अरनिको राजमार्गबाट धुलिखेल–रविओपी–काशीभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाइकिङ गर्दै नगरकोटसम्म पुग्न सकिन्छ।
तेमाल, नमोबुद्ध, धुलिखेल, गोसाइँस्थान, काशीभञ्ज्याङ हुँदै नगरकोट जोड्ने ट्रेकिङ मार्ग निर्माणका लागि बजेट विनियोजन भइ काम सुरु भइसकेको नगर कार्यालयले जनाएको छ । साथै पवित्र तीर्थस्थल तथा पर्यटकीयस्थल बनाउन नगरपालिका र वडाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी बहुवर्षीय योजनामा समावेश भई बजेट विनियोजनसमेत भएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।






प्रतिक्रिया