अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुको थामेमा ४ वटा घर र एउटा छात्रावास बगायो (अपडेट)

सोलुखुम्बुको थामेमा ४ वटा घर र एउटा छात्रावास बगायो (अपडेट)


सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ।

भीषण बाढीले थामे गाउँका एक होस्टेल र चार घर बगाएको बताइएको छ। थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गर्नुभयो। थामे गाउँमा बाढीले क्षति पुर्‍याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो। उहाँले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनुभयो।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ। नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो। स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन्। क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा-५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ।