विराटनगर-कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ।
सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो। कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन तयारी गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार गुरुयोजना बनाउने छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नीति मजबुद बनाएर सडक सञ्जाल बनाउन जोड दिनुभयो। संघ र प्रदेश सरकारको आन्तरिक श्रोत खुम्चिँदै गएको अवस्थामा श्रोतलाई समेत मध्यनजर गरेर सडक सञ्जालको गुरु योजना बनाउनु पर्ने बताउनुभयो। उहाँले प्राथमिकतालाई निर्धारण गरेर मात्रै सडक बनाउनु पर्ने बताउदै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सडक बनाउने प्राथमिता दिने परिपाटीलाई गुरुयोजनाले अन्त्य गर्ने बताउनुभयो।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले अहिले करिब १० हजार किलोमिटर सडक पहिचान गरिएको भएपनि ६ हजार किलोमिटर सडकको मात्र प्राथमिकिकरणको आधारमा गुरुयोजना बनाउने तयारी गरिएको जानकारी दिनुभयो । प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब १० हजार किलोमिटर सडक पहिचान गरिएपनि अब गुरु योजनामा ६ हजार किलोमिटर समेटेर तयारी गरिने र त्यसलाई पास गरेर अघि बढ्ने बताउनुभयो । भौतिक पुर्बाधार मन्त्रालयको आयोजनामा कार्यक्रम भएको थियो।







प्रतिक्रिया