काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’का लागि पुस्तक सङ्कलन गर्ने काम सुरु भएको छ।
आइतबारबाट प्रधानमन्त्री पत्नी राधिका शाक्यले पुस्तक लिनु सुरु गर्नुभएको हो। आइतबार शाक्यले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ बुझेर पुस्तक सङ्कलनको काम प्रारम्भ गर्नुभएको हो।
पुस्तक हस्तान्तरण गर्न डा. कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको थियो। स्रष्टा र इच्छुक व्यक्तिहरूले दिनुभएको पुस्तक अब दैनिक एक घण्टा सङ्कलन गरिने भएको छ। पुस्तक प्रधानमन्त्री पत्नी राधिकाले आफैँ सङ्कलन गर्नुहुने भएको छ। ‘पुस्तक रिसिभ गर्ने काम भोलिदेखि शनिबार बाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुनेछ, पुस्तक हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा आउन सक्नु हुनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा लाइब्रेरीको लागि कोठा बनाइएको भए पनि लाइब्रेरीमा राखिएका र्याग खाली थिए । सो पुस्तकालयलाई नागरिक पुस्तकालय बनाउन प्रधानमन्त्री पत्नीले पुस्तक सङ्कलन गर्न सुरु गर्नुभएको हो। प्रधानमन्त्री जो भए पनि उहाँहरूलाई भेट्ने जाने वा बालुवाटार जाने जो कोहीले पनि पढ्न पाउन् भन्ने उद्देश्यले उहाँले पुस्तकालय बनाउने काम सुरु गर्नुभएको हो।
बालुवाटारसम्म आएर पुस्तक प्रदान गर्नुभएकोमा शाक्यले डा। कोइरालालाई धन्यवाद दिनुभयो।
डा. कोइरालाले संस्थागत हिसाबले लाइब्रेरीलाई सुहाउने गरी पुस्तक प्रदान गरिएको बताउनुभयो। प्रधानमन्त्रीको सरकारी निवासमा अरूलाई पनि उपलब्धता हुने गरी पुस्तकालय सञ्चालन गरिनु राम्रो काम भएको कोइरालाले बताउनुभयो। ‘केही असल सन्देश दिने खालका किताबहरू छन् भने तपाईँ हामी सबैले आफ्नो तर्फबाट सहयोग गर्दा भविष्यमा एउटा ठुलो योगदान यो समाजलाई पुग्न सक्छ’, डा। कोइरालाले भन्नुभयो।
प्रतिक्रिया