अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोककाे तिपेनीमा पहिरोले इन्द्रावती थुनियो, स्थानीयलाई सतर्क रहन आग्रह

सिन्धुपाल्चोककाे तिपेनीमा पहिरोले इन्द्रावती थुनियो, स्थानीयलाई सतर्क रहन आग्रह


काठमाडौं-सिन्धुपाल्चोकको पाँचपोखरी गाँउपालिका-७ थाङपाल स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ। सुख्खा पहिरो गएपछि इन्द्रावती नदी थुनिएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ। पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ।

पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

नदी आंशिक रुपमा थुनिँदा  मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् । गएराति देखि आएको पहिरोका कारण इन्द्रावती नदीको बहाव रोक्न सक्ने भन्दै तिपेनी बजार र इन्द्रावती नदी किनारका नागरिकहरू त्रसित भएका हुन् ।

पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने छ। अहिले गाउँपालिकाका अध्यक्ष टासी लामा, अन्य जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयहरू पहिरोको अवस्थाबारे निरीक्षणमा गएका छन्। 

यसैबिच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पहिरोका कारण जोखिममा परेका स्थानीयबासी एवम् उनीहरुका सामग्री तथा अस्पतालका सामग्रीहररू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि ईन्द्रध्वज गणबाट फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।