अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती: शंकर पोखरेल

राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्र भित्र समाजवाद र समाजवाद भित्र प्रजातन्त्र खोज्ने प्रवृत्ति राजनीति भित्र जति बलशाली हुन्छ त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताउनुभएको छ।

नेपाली कांग्रेका नेता स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन प्रकारको चुनौतीबाट गुज्रिएको छ, त्यो नेपाली कांग्रेस र नेकपा एमालेको मात्र सरोकारको विषय नभएको प्रष्ट पार्नुभयो। राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको उहाँले बताउनुभयो।

राज्य र नागरिक जोडिँदा मात्र देश सही दिशामा अघि बढ्न सक्ने उहाँले बताउनुभयो। ‘राज्य नागरिक बिचको अन्तर सम्बन्ध जब गहिरो हुन्छ तब देश बन्द छ, आज नेपाली समाजमा नागरिक र राज्य जोडिन सकेकै छैनन्, जब नागरिक र राज्य जोडिन सक्दैनन्, लोकतन्त्र सफल हुन सक्दैन’, उहाँले भन्नुभयो।

नेपालको समाज भित्र विद्रोहको चेतले घर गरेकोले जसले विद्रोह र अराजक कुरा गर्दछ त्यसको पछाडि नागरिक लाग्ने गरेका उहाँले बताउनुभयो । यसले समाजलाई सही दिशा तर्फ अघि बढाउन नसक्ने उहाँको धारणा छ।

पोखरेलले नेपालको संसद् भित्र समेत असमानताले घर गरेको बताउनुभयो। संसद्मा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउनेले आफूलाई क वर्गको ठान्ने र समानुपातिक प्रणालीबाट आउनेलाई अर्कै दर्जाको ठान्ने प्रचलन रहेको उहाँले बताउनुभयो। उहाँले संविधानले व्यवस्था गरेको निर्वाचन प्रणाली नै असमान रहेको दाबी गर्नुभयो। ‘चुनाव जित्नेहरूले क वर्गको ठान्ने, समानुपातिकले ख वर्गको ठान्ने’, उहाँले भन्नुभयो।

समानुपातिक समावेशितालाई सबै सांसदहरू समान हुन् भन्ने ढाँचामा लैजानु पर्दछ भन्ने मान्यता नेपाली कांग्रेस र नेकपा एमाले बिच रहेको उहाँले बताउनुभयो । त्यसमा कसैको असहमति हुनु नपर्ने पोखरेलले बताउनुभयो।

यस विषयमा कुरा गर्न केपी ओली माओवादी अध्यक्ष पुष्पकमल दाहालको जानु भएको भए पनि प्रचण्ड सहमतिमा नआउनुभएको उहाँले सुनाउनुभयो । यदि उहाँ पनि सहमतिमा आउनुभएको भए अहिले दुई पार्टी बिच भएको समीकरणमा तेस्रो ठुलो पार्टी पनि मिसिने र देश अर्कै हिसाबले अघि बढ्ने स्थिति आउने पोखरेलले बताउनुभयो।

नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताउनुभयो। शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि एक कार्यकाल बराबरको गर्ने मौका नपाएको उहाँले बताउनुभयो। कुनै पनि व्यक्तिले आफ्ना नीति तथा कार्यक्रम लागु गर्न कम्तीमा एक कार्यकाल काम गर्नुपर्छ भन्ने मान्यता नेपालको राजनीतिमा स्थापित गर्न नसकिएको उहाँले प्रष्ट पार्नुभयो ।

निरंकुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने उहाँले स्पष्ट पार्नुभयो। तर विकास र समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको पोखरेलले बताउनुभयो। त्यसैका लागि नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरण गरेको पोखरेलले जानकारी दिनुभयो।

राज्यले बलियो बनाउने हो भने राजनीतिक दल बलिया हुनु पर्ने र राजनीतिक स्थायित्व खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो।