काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा पुल निर्माणको अवस्थामा अस्थायी आवागमनका लागि बनाइएका संरचना सुरक्षित बनाउन निर्देशन दिनुभएको छ। मुगुको छायाँनाथरारा नगरपालिकाको निर्माणाधिन पुल छेउमा बनाइएको अस्थायी साँघुबाट दुईजना खसेको घटना प्रति गम्भीर ध्यानाकर्षणसँगै उहाँले मातहतलाई सो निर्देशन दिनुभएको हो।
घटनाका बारेमा मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसँग जानकारी लिँदै मन्त्री दाहालले त्यस्ता स्थानहरुको सुरक्षामा ध्यान दिन र सुरक्षित बनाउन निर्देशन दिनुभयो। छायाँनाथराराको वडा-१ स्थित गमगाड खोलामा हाल पक्कि पुल निर्माणाधिन रहेको छ। साेही स्थानमा मानिसको आवत जावतका लागि बनाइएको अस्थायी साँघुबाट एक बच्चा र महिला खसेको घट्ना बारे प्रमुख जिल्ला अधिकारी केसीले जानकारी गराउनु भएको थियो। त्यस घट्ना लगत्तै खसेका व्यक्तिहरुको उद्धार गरिएको र उक्त स्थानको अस्थायी साँघुलाई सुरक्षित बनाउन नगरपालिकाको तर्फबाट समेत पहल भइरहेको केसीले जानकारी दिनु भयो।
मन्त्री दाहालले अहिले वर्षायाम रहेको र देशका विभिन्न भागमा बाढी, डुवान तथा कटानको जोखिम रहेकाले मानवीय क्षति हुन नदिन अस्थायी संरचनाहरुलाई पनि सुरक्षित बनाउन निर्देशन दिनु भएको हो। तत्काल गर्नुपर्ने कामका लागि श्रोत साधनको अभाव हुन नदिने समेत उहाँले प्रतिवद्धता जनाउनु भएको छ।
मंगलबारनै मन्त्री दाहालले मनोहरा खोलाका कारण डुवानमा पर्ने गरेको च्यासल क्षेत्रको निरीक्षण गर्नु भएको थियो। सो स्थानको समस्या समस्या समाधानका लागि प्राविधिक अध्ययन गरि आवश्यक प्रकृया अघि बढाईने उहाँले बताउनु भएको थियो।
प्रतिक्रिया