अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार


नवलपरासी-नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ। गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा  बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो।

आर्थिक वर्ष २०७७र७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले  हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिनुभयो।

“आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८र७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच  हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।”

छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन्। उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। 

“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैङ्क खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो ।

“छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैङ्क जाने गरेको पाएका छौँ”, उहाँले भन्नुभयो, “छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ ।”  

हुप्सेकोट गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम कार्यविधिमार्फत यसका लागि केही सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड पनि बनाएको छ । कार्यक्रमबाट सुविधा लिनका लागि हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनुपर्ने छ। उक्त कार्यक्रमपछि  उमेर पुगेपछि बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताउनुभयो।