अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर अविरल वर्षाले जनजीवन प्रभावित

देशभर अविरल वर्षाले जनजीवन प्रभावित


काठमाडौँ-अविरल वर्षा कारण देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ। 

वर्षा नरोकिएका कारण बाढी तथा पहिरो र डुबानको जोखिम बढेको छ। 

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा दिनभर हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार बुधबार रातिसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। काठमाडौं उपत्यकामा रातिदेखि परेको पानीले जनजीवन प्रभावित भएको छ।

लगातारको वर्षाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सतह खतरा तह नजिक पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार साना तथा ठुला नदीमा पानीको बहाव बढेको हो। काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेकाले बागमती, विष्णुमती, धोविखोला, गोदावरी र हनुमन्तेमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, ब्याग्दी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरका साना तथा ठुला नदीमा पानीको वहाव बढेको छ। 

लगातारको वर्षा र पहिरोले केही राजमार्गसमेत अवरुद्ध भएका छन्। पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध छ।  धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।  बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । कैलारी गाउँपालिका –५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

 खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रका केही उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।