अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ: मुख्यमन्त्री कार्की


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले नेपाली कांग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले यही भदौ १४ गतेदेखि सुरू हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताउनुभयो। उहाँले विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार मन्त्री रहनेसमेत स्पष्ट पार्नुभयो। मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘एक/दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहे पनि पूर्वसहमतिअनुसार बाँकी मन्त्री रहन्छन्।’

पहिचानवादीहरूका मागका सन्दर्भमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उहाँले प्रदेशको नामकरण भइसकेकाले परिवर्तन नहुने र मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको वार्ता टोलीले आवश्यकतानुसार विभिन्न विषयमा वार्ता गर्ने जानकारी दिनुभयो।