तनहुँ-पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ। आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो।
राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो। शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटर मात्रै तानिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ।’
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया