अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा जङ्गली हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’

झापामा जङ्गली हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’


झापा-जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ।

मेचीनगर नगरपालिका-१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो।

उहाँले मोबाइल फेन्सिङका कारण तीन सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने बताउनुभयो। ‘धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल छ’, उहाँले भन्नुभयो, ‘किसानहरूको बाली जोगाउन मोबाइल फेन्सिङ गरेका हौँ। कति सफल हुन्छ हेर्न बाँकी छ।’

उहाँका अनुसार मेचीनगर नगरपालिका-४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा-१ मा दुई सय बिघा यसैगरी घेराबेरा गरिने उहाँले बताउनुभयो।

उहाँले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिनुभयो। सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो। यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउने उहाँले जानकारी दिनुभयो।

उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताउनुभयो। उहाँले इसिमोडको रु.१३ लाखको आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको बताउनुभयो।

“हामी बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भयौँ, यहाँ दोस्रोपटक परीक्षण गर्दैछौँ, सफल हुनेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो। धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने बताउनुभयो।

हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ। भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर-१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ।