अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीका पदाधिकारी: कुन पदमा को विजयी ?

एकीकृत समाजवादीका पदाधिकारी: कुन पदमा को विजयी ?


काठमाडौं-नेकपा एकीकृत समाजवादीको पदाधिकारीतर्फको मत गणना सकिएको छ। पदाधिकारी छान्नका निम्ति निर्वाचनको मत परिणाम सार्वजनिक गरेको हो।

महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुनुभएको छ। त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित हुनुभएको छ। राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा हुनुहुन्थ्यो उता साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा हुनुहुन्थ्यो।

निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्। ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन्। आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन्। खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन्।

हिजो (मंगलबार) भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए। बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए। पहिलो पूर्ण बैठकले चुनावमार्फत् पदाधिकारीको टुंगो लगाएको हो। एकीकृत समाजवादीले पोलिट्ब्युरो सदस्य पनि चुनावैबाट छानेको छ।