काठमाडौँ-प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।
यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनुभएको थियो।
उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनुभएको थियो। त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका हुन् ।
३७ वर्षदेखि सैनिक सेवामा कार्यरत् सिग्देल भैरहवाका हुन्। उहाँले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर गर्नुभएको छ।
सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको कमाण्ड पनि सम्हाल्नु भएको थियो । युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियालगायतका देशमा उनी यूएन मिसनमा जानु भएको थियो।
प्रतिक्रिया