अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सकिँदैन: शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सकिँदैन: शिक्षामन्त्री भट्टराई


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले विश्वविद्यालयलाई सधैँ हस्तक्षेप गर्न नसक्ने बताउनु भएको छ।

बुधबार मन्त्रालयमा शिक्षाबिटका पत्रकारहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले विश्वविद्यालयको आफ्नै छुट्टै ऐन हुने भन्दै सधैँ मन्त्रालयले निर्देशन दिइरहन नसक्ने पनि स्पष्ट पार्नुभयो।

उहाँले मन्त्रालयले विश्वविद्यालयलाई अफ्ठ्यारो पर्दा साथ दिने, सहयोग गर्ने, कमी कमजोरी औंल्याइदिने भएकाले सधैँ मन्त्रालयले हस्तक्षेप गर्न नसक्ने बताउनु भयो। उहाँले सबैकुरा मन्त्रालयले गर्ने भए उपकुलपति, रेक्टर, रजिस्ट्रार, विभागीय प्रमुख, पाठ्यक्रम निर्देशकहरु किन चाहियो? भन्दै प्रश्न गर्नुभयो।

‘विश्वविद्यालयका पदाधिकारीहरूले पनि कोसँग कस्तो व्यवहार गर्ने भन्ने मापदण्ड त आफ्नो पनि बनाउनुपर्छ। त्यसका लागि पनि म छलफलमा बस्दैछु। शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई धेरै हस्तक्षेप गर्न सक्दैन। यसमा हामी स्पष्ट पनि हुनुपर्छ। आफ्नो ऐन एउटा छ। उसको कानुन छ। अनि हामीले जतिबेला पनि हस्तक्षेप गर्न सक्दैनौँ। अफ्ठ्यारो पर्दा साथ दिने हो। सहयोग गर्ने हो। उहाँहरूले गर्नुभएको कामको निगरानी गर्ने हो। यहाँनेर कमी गर्नुभयो भन्नेकुराको इन्टर्नभेन गर्ने हो। तर जतिबेला पनि मन्त्रालयले निर्देशन दिन सक्दैन,’ मन्त्री भट्टराईले भन्नुभयो।

मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने हस्तक्षेपको समग्र शैक्षिक सुधारका विषयमा राजनीतिक दलका शिर्ष तहका नेताहरूसँग छलफल गरेको बताउनु भयो। त्रिभुवन विश्वविद्यालयभित्र भइरहेको अवस्थालाई राजनीतिक दलहरूको प्रतिवद्धता नआउन्जेलसम्म मन्त्रालयले केही पनि गर्न नसक्ने बताउनु भयो।