अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहुँच मार्ग निर्माणलाई सरल र चुस्त बनाउने भौतिकमन्त्री दाहालको प्रतिवद्धता

पहुँच मार्ग निर्माणलाई सरल र चुस्त बनाउने भौतिकमन्त्री दाहालको प्रतिवद्धता


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरूसम्म पुग्ने पहुँच मार्ग निर्माणलाई सरल र चुस्त बनाइने बताउनु भएको छ। 

काठमाडौंको बुढानिलकण्ठ-७ स्थित काठमाडौं ईन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (वाल अस्पताल) सम्म पुग्ने सडक क्षेत्रको निरीक्षणको क्रममा उहाँले पूर्वाधार निर्माणलाई जनमुखी र सेवाग्राहीमैत्री बनाइने समेत बताउनुभयो।

गैर नाफामूलक वाल अस्पताल निर्माणले वाल स्वास्थ्य तथा वाल सुरक्षालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यस प्रकारका अन्य संस्था, निकाय तथा नागरिकले बढी लाभ लिन सक्ने क्षेत्र सम्म पुग्ने पहुँच मार्ग निर्माणलाई सरकारले प्राथमिकता दिने समेत बताउनुभयो।

सडक अवलोकन तथा निरीक्षणका लागि पुग्नु भएका दाहालले अस्पतालको निर्माणाधीन भवन तथा अन्य संरचनाहरूको पनि अवलोकन गर्नुभयो। त्यस क्रममा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले इन्स्टिच्युटले सातै प्रदेशमा स्तरीय वाल अस्पताल निर्माण र सञ्चालनको लक्ष्य राखेको बताउनुभयो। ती मध्ये कोशी प्रदेशको झापाको दमकमा वाल अस्पताल सञ्चालन भई रहेको जानकारी दिँदै कोइरालाले अस्पताल सञ्चालनको छोटो समयमा नै कोशी प्रदेशका विभिन्न जिल्लाका बालबालिकाहरूलाई सेवा उपलब्ध गराइएको बताउनुभयो।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले अस्पताल क्षेत्र सम्म पुग्ने पूर्वाधार निर्माणमा नगरपालिकाले पनि प्राथमिकता दिएको भन्दै वृहत् योजना र कार्यक्रममा प्रदेश र सङ्घीय सरकारबाट पनि सहयोगको अपेक्षा राखिएको बताउनुभयो।