सुर्खेत-खानेपानी तथा सरसफाइ मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच सम्झौता भएको करिब दुईवर्ष पछि भेरी लिफ्टिङ आयोजना निर्माण चरणमा प्रवेश गरेको छ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र चिनियाँ कम्पनीबीच बुधबार सम्झौता भएपछि आयोजना निर्माणको चरणमा प्रवेश गरेको हो।
आयोजना इकाईका प्रमुख सन्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनिया कम्पनीका प्रतिनिधि सुशिल श्रेष्ठबीच निर्माण सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
वीरेन्द्रनगरमा आज आयोजना इकाइ र निर्माण कम्पनीका प्रतिनिधीले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि उक्त आयोजना अघि बढ्ने भएको हो। भेरीको पानी वीरेन्द्रनगर ल्याउनका लागि पहिलो चरणमा रु.३ अर्ब ५० करोड आठ लाख १५ हजार २८० रुपैया खर्च गरिदैछ।
सहरको उत्तरतिर पानीका मुलको सिमितताका कारण दक्षिणतर्फको भेरी नदीबाट सहरमा पानी चढाउन लागिएको हो। आगामी दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो परिचयोजना लगत्तै यसको दोस्रो चरण पनि सुरु गरिने वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो।
योजना पहिले नै सुरु हुने चरणमा प्रवेश गरे पनि संघीय निकालयले कार्यान्वयन गर्ने कि स्थानीयले भने भित्री विवादका कारण करिब ढेड वर्ष काम अघि बढ्न सकेको थिएन । स्थानीय तहबाटै परियोजना सञ्चालनको मोडालिटी बनेको,दाता विश्व वैंकले पनि स्थानीय तहसँगै काम गर्ने मनसायले लगानी गरेकोले स्थानीय तहबाट योजना सञ्चालन गर्नुपर्ने माग ढकालले निरन्तर राख्दै आउनुभएको थियो। यस बीचमा पटक पटक खानेपानी तथा सरसफाइ मन्त्रालय,अर्थ मन्त्रालय तथा विश्व वैंकका प्रतिनिधीह्रुसँग प्रमुख ढकालले औपचारिक, अनौपचारिक संवाद र बैठकहरु जारी राख्नु भएको थियो। यसै प्रकृतिका अन्य ६ वटा स्थानीय तहहरुमा पनि खानेपानी आयोजना कार्यान्वयन रोकिएकोले गत असारमा वीरेन्द्रनगरमा ६ वटै स्थानीय तहका प्रमुख र अर्थ मन्त्रालयका अधिकारीबीच लामो छलफल भएर स्थानीय तहबाटै योजना कार्यान्वयन गर्ने सहमति बनेको थियो।
परियोजना निर्माणको हस्ताक्षरपछि बोल्दै प्रमुख ढकालले निर्धारित समयमा नै वीरेन्द्रनगरवासीलाई पानी खुवाउने सपनामा कुनै पक्षबाट अवरोध हुन नदिने बताउनुभएको छ। उहाँले संघीय मन्त्रालय तथा सबै निकायबाट यो परियोजनालाई पूर्ण रुपमा सहयोग हुने विश्वास गर्नुभयो।
मेयर ढकालको चुनावी प्रतिवद्धापत्रमा भेरीको पानी लिफ्टिङ गरेर वीरेन्द्रनगरवासीलाई खुवाउने प्रतिवद्धता थियो।
जनघनत्वको उच्च चापमा रहेको यो नगरपालिका कर्णाली प्रदेशको राजधानी सहर हो। संघीयतापछिको एक दशकमा यहाँ बसाँइसरेर आउनेहरुको चाप अत्याधिक बढेको छ। जसले गर्दा यहाँ खानेपानीके हाहाकार बढिरहेको छ। स्थानीय तहबाट सञ्चालन भएको यो परियोजना हालसम्मकै ठुलो रकमको हो। परियोजनाले आगामी ३० वर्षमा वृद्धि हुने यहाँको जनसंख्यालाई पर्याप्त खानेपानी पुर्याउने दाबी गरिएको छ।
प्रतिक्रिया