देउखुरी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनु भएको छ।
प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा बस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँले बताउनु भयो ।
प्रदेश योजना आयोगको आयोजनामा बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आर्थिक, सामाजिक, भौतिक लगायत सबै क्षेत्रका तथ्यांकलाई यथार्थपरक बनाउनुपर्ने बताउनु भयो। ‘डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धी हो। यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘हरेक कामको मुल्यांकन तथ्यांकको आधारमा गर्नुपर्छ। यसमा सबैले ध्यान दिनुपर्ने छ।’
मुख्यमन्त्री आचार्यले डाटा पोर्टलको उद्घाटन समेत गर्नुभएको छ। लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधार लगायत सबै बिषय र पक्षका तथ्यांकलाई एकिकृत गरेर एकै ठाउँमा तथ्यांक राखिएको छ। विगतमा तथ्यांक खोज्न र प्रयोग गर्न समस्या थियो। तर, अव देखी प्रदेश संग सम्वन्धित सबै तथ्यांकहरु डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्यांक प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कवरले बताउनु भयो।
प्रतिक्रिया