काठमाडौं-अमेरिकामा नेपाली छात्रा मुना पाण्डेमाथि गोली हानी हत्या गरिएको व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ। ह्युस्टन प्रहरीले बुधबार गोली चलाउने अभियुक्तको तस्वीर सार्वजनिक गरेको हो। तर अभियुक्तको पहिचान अझै खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले समाचार लेखेको छ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत नेपालको भोजपुरकी २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फोला परेकी थिइन्। उनीमाथि गोली हानिएको थियो। सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। ती व्यक्ति को हुन् भन्ने पहिचान भइनसकेको प्रहरीले जनाएको छ।
मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले जनाएको छ। प्रहरीले अभियुक्त पहिचानका लागि समुदायलाई सहयोग गर्न आग्रह गरेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरिएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो।
शनिबारदेखि सम्पर्कविहीन उनी सोमबार आफ्नै कोठामा मृत भेटिएकी थिइन्। ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ । नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो। उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन्। आफ्नी छोरी एक अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन्। प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया