अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे काठमाडौं प्रशासनले कारबाही गर्ने

खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे काठमाडौं प्रशासनले कारबाही गर्ने


काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाली महिलाहरुको पर्व हरितालिका तीज भड्किलो र खर्चिलो एवं अनावश्यक तडकभडक नबनाउन अनुरोध गरेको छ। आज एक सूचना जारी गरी प्रशासनले परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिने बाहेक कुनै खर्चिलो र भड्किलो तीज नमनाउन सो अनुरोध गरेको हो।

जिल्ला प्रशासन काठमाडौँले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण पनि गराएको छ। 

आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवं भड्किला कार्यक्रमहरू सञ्चालन नगर्न नगराउनु अनुरोध गर्दै अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट प्रशासनले सहयोगको अपेक्षा गरेको छ। 

‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरूको आयोजना गरे/ गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जारी गरेको सूचनामा भनिएको छ ।