काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजीत नाडा अटो शोको अवलोकनका लागि बिहिबार पुग्नुभएका उहाँले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको पनि बताउनुभयो।
देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोवाईल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याई रहेको उहाँको भनाई थियो। जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोवाईल्स सेवा पुर्याएउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो।
अटोमोवाईल्स तथा यससँग सम्वन्धित उद्योग तथा व्यवसायले नेपालमानै स्वरोजगारी समेत सिर्जना गरि रहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताउनुभयो। भदौ ११ देखि १६ गते सम्म आयोजीत अटो शो अवलोकनका लागि मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतका अधिकारीहरु पनि सहभागी रहनु भएको थियो।
एशोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोवाईल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराउनु भएको थियो।
प्रतिक्रिया