अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित


काठमाडौं-नेकपा एकीकृत समाजवादीको केन्द्रमा पदाधिकारी चयनको रन्को चलिरहदा गण्डकीको बागलुङ जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ।

नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा पदाधिकारी सहित सिंगो जिल्ला समिति नेकपा एमालेमा समाहित भएको हो।

माधव नेपालले नेतृत्व गरेको यो समुहले पार्टीको आकार ग्रहण नगरेको र यसले कम्युनिष्ट आन्दोलनलाई थप धरासायी बनाउन भूमिका निर्वाह गरेकोले यो समुहमा बस्नुको औचित्य नभएको भन्दै नेकपा एसका केन्द्रीय सदस्यदेखि जिल्ला नेतृत्व र सम्पूर्ण कमिटीहरु एमालेमा समाहित भएको नेकपा एमाले जिल्ला अध्यक्ष हिरा केसीले जानकारी दिनुभयो।

नेकपा एसका जिल्ला अध्यक्ष लालबहादुर थापाले आफूहरु कमजोर होइन बलियो कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको त्यसका लागि पुरानाे घरमै फर्किएर त्यो वातारवरण निर्माण गर्ने बताउनुभयो। उहाँले हिजोको दिनमा गलत नेतृत्वलाई विश्वास गर्न पुगेका कारण आफूहरू अहिले एमालेमै समाहित भएको बताउनु भयो।

‘हिजोमा दिनमा हामीले जुन उद्देश्यका लागि विद्रोहको झण्डा उठाएका थियौं, जुन नेतृत्वमाथि विश्वास गरेका थियौं,’थापाले भन्नुभयो, ‘त्यो नेतृत्वले हामीले अपेक्षा गरे अनुसार अगाडि बढ्न सकेन। पार्टी नेतृत्व नै सङ्कीर्णतामा रमाउन थालेपछि हामीले नेतृत्व होइन पार्टी रोज्ने निर्णय गर्‍यौं। एमालेमा हामीले रगत पसिना बगाएका थियौं। त्यसैमा संघर्ष गर्ने र एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्नेछौं।’

आज भएको समायोजन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मनाकुमारी केसी, जिल्ला अध्यक्ष हिरा केसी र सचिव गणेश बहादुर थापा मगरले हस्ताक्षर गर्नुभएको छ। यसैगरी एस पार्टीबाट केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा,अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरीले हस्ताक्षर गर्नुभएको छ। एमाले प्रवेश गरेका एसका नेता कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले खादा माला लगाएर एमाले प्रवेश गराउनु भएको छ।

 समायोजन भएका नेता-कार्यकर्ताहरुलाई व्यवस्थापन गर्नका लागि एमालेबाट इन्चार्ज केसी, केन्द्रीय सदस्य डा.सूर्य पाठक, इन्द्रलाल सापकोटा, अध्यक्ष केसी सचिव थापा हनुहुन्छ। समाजवादीका तर्फबाट केन्द्रीय सदस्य शर्मा,अध्यक्ष थापा र सचिव पुरी सहितको एक समिती गठन गरिएको छ।

अध्यक्ष केसीका अनुसार बागलुङबाट सुरु भएको एसलाई एमालेमा समायोजन गर्ने अभियान देशैभरी फैलनेछ। बागलुङको सन्देश भनेको एसमा भएका सबै नेता कार्यकर्ता एमालेमा फर्कन्छन् भन्ने हो। कालान्तरमा माधव नेपाल पनि कमिटी सहित एमालेमा आउनुहुन्छ भन्ने कुराको संकेत बागलुङबाट भएको केसीले दाबी गर्नुभयो।