अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगको माध्यमबाट संसारमा नेपाल चिनाउन सकिन्छ: सभामुख घिमिरे

योगको माध्यमबाट संसारमा नेपाल चिनाउन सकिन्छ: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिने बताउनु भएको छ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आज भएको स्वजागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल योगका लागि जन्मभूमि रहेको समेत उल्लेख गर्नुभयो। ‘मानिसहरूलाई आध्यात्मिक रूपमा अघि बढ्न, आन्तरिक खुसी र शान्तिपूर्ण जीवनका लागि योग जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हामीले योगको प्रचार गरेर संसारमा चिनिन सक्छौं।’ ऋषिमुनिहरू र बुद्धको तपोभूमि नेपाललाई विश्वमाझ आध्यात्मिक केन्द्रको रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो।


मानिसको मूल स्वभाव स्वस्थ्य, खुसी, साहस, प्रेम, ज्ञान, ध्यान र आनन्द रहेको बताउँदै सभामुख घिमिरेले योगले आफ्नो आन्तरिक क्षमता जगाएर व्यवहारिक रूपमा समस्याहरूलाई समाधान गर्न सक्ने बनाउने उल्लेख गर्नुभयो।
सभामुख घिमिरेले योग दिनचर्याको रुपमा नै गर्नुपर्नेमा जोड दिनुभयो। सर्वोच्च विधायिकी संस्था संघीय संसदका माननीयज्यूहरुमा स्वजागरण कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गरेको सभामुखको भनाइ छ।


संघीय संसदका सदस्यहरूका लागि आयोजना गरिएको योगाभ्यास सम्बन्धीको स्वजागरण कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।