काठमाडौँ-नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको जिकिर गर्नुभयो। उहाँले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्नुभयो।
सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्नुहुँदै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो। उहाँले निर्वाचनबाट जितेर आउन नसक्नेहरू पनि रहेकाले उनीहरूको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताउनुभयो।
संविधानका आधारभूत कुराहरू संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो। संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको बताउनुभयो। अरू देशको तुलनामा अझ बढी प्रगतिशील लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताउनुभयो।
‘‘समावेशीसहितको प्रजातन्त्र राखिएको छ। यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो। त्यसकारण फण्डामेण्टल कुराहरूमा परिवर्तन हुन सक्दैनन्। त्यहाँ लेखिएको पनि छ। अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरू अटाउने संविधान छ।’ सभापति देउवाले भन्नुभयो, ‘‘त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ। महत्त्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो। मानव जातिले निर्बाध रूपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ। डर, त्रास मुक्त देशको रूपमा स्थापित गराउनुपर्छ। अरू देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’
प्रतिक्रिया