पृथ्वीनारायण शाह र उनका बुबा नरभूपाल शाहको सल्लाहकार बिसे नगर्चीको विषयमा गहिरो खोज-अनुसन्धान गरी ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ नामक पुस्तक प्रकाशन भएको छ। मोरङको पथरी शनिश्चरे-१ निवासी खोजकर्ता एवं लेखक दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक लेखेका हुन्।
बिसेको जन्म स्थल गोरखा पुगेर उनलाई र उनको सन्तान, छोरालाई दिएको सनदपत्र, लालमोहर, बिसेका सन्तानलाई भेटेर गहिरो अध्ययन गरी यो पुस्तक लेखेको लेखक तिम्सिनाले बताउनुभयो। नेपालका पुराना इतिहासकार सँगको सोधखोज गरी किताब लेखिएको छ। विभिन्न समयमा इतिहासकारहरूले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि बिसेले नुवाकोट दुईपटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास उल्लेख गरिएको छ।
एउटा सही सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ। यही उदाहरण नेपालको इतिहासमा पाइन्छ। यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो- बिसे नगर्ची। अहिले लोकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका हुन्छन्। हिजोआज विज्ञताको आधारमा नभई आफन्तलाई सल्लाहकार राख्छन्। स्वकीयसचिव, सल्लाहकारहरूले न सल्लाह दिन्छन् न सल्लाह लिन्छन् अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ। सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र झैँ बनेको थियो।
नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे। तर त्यसबेला राज्य कोषमा पैसा थिएन। युद्ध जित्न योद्धा कुशल भएर मात्र हुँदैन हतियार पनि गुणात्मक चाहिन्छ। एकाबिहानै देखि उठेर दरबारमा चिन्तित बनेर टोलाईरहेका पृथ्वीनारायणलाई आमा कौसल्यावतीले देखेपछि एक दिन बिहान सोधिछन्, ‘छोरा तिमीलाई के भयो ?’ भनेर। त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार बेहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन्। यो कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भन्छिन् । सोही अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गएछन्।
कस्तो थियो सामरिक महत्त्वको सल्लाह
राजा एक्कासि घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्यो भन्दै सोधेछन्। राजाले तिमीलाई थाहा छदैछ नुवाकोट हार व्यहोर्नु परेको अब लडाइँ लड्नु छ। हात हतियार चाहिएको छ। राज्य कोषमा पैसा छैन कसरी हतियार किन्ने भनेर तिमीसँग सल्लाह लिन आएको तिमी त हाम्रो बुवाको पालादेखि सल्लाह दिँदै आएको सुनेको छु उचित सल्लाह देऊ भनेछन्।
बिसेले म जस्तोले के सल्लाह दिन सक्छु र भनेछन्। सल्लाह भनेको मान्छे सानो ठूलो पढेको नपढेको भन्ने हुँदैन राजाले भनेछन्।
बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई सोधेछन्। १२ हजार दाम भए त पुग्दो हो राजाले भने। गोरखा राज्यमा कति छन् महाराज बिसेले राजालाई सोधेछन्।
पुग नपुग १२ हजार घर होलान् भनेछन् राजाले भनेछन्।
राजाको कुरा सुनिसकेपछि बिसे घरको कोठामा पसेछन् ।
कोठाभित्र पसेर बिसेले एक पैसा, पाँच पैसा गरेर जम्मा गरेर एक मोहर बनाई राजाको हातमा चढाई सोही अनुसार प्रत्येक घरधुरीबाट १/१ रुपैयाँ उठाउन सल्लाह दिएकोले सोही अनुसार पैसा उठाई काँसी गएर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको जनश्रुति रहेको साथै इतिहासकारहरूले विभिन्न दस्ताबेजमा लेखेका छन्।
गोरखामा बिसे नगर्चीको प्रतिमा
राज्य एकीकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उहाँको परिवार कहाँ कसरी बसिरहेका छन् यो खोज-अनुसन्धानको विषय हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुँदैन। बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारको बालिघरे हुनुहुन्थ्यो। तर यस्तो सामरिक सल्लाह दिने बिसेलाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन।
विभिन्न युद्धमा बिसेको सहभागीता
पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेको सहभागीता रहेको विभिन्न इतिहासकार तथा खोजकर्ताले खोजेको दस्तावेजबाट थाहा हुन्छ। नुवाकोट युद्धमा उहाँ सहभागी हुनुभयो। तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भएर युद्धमा सामिल हुनुभएको थियो। पछि नुवाकोट विजय भईसकेपछि यी बुढा महाराजसँगै अन्तरिम राजधानी नुवाकोट मै रहने गर्दथे। नुवाकोटको युद्धमा तिरधारे मोर्चाबाट पृथ्वीनारायणसँगै सहभागी भएको कुरा गोरखामा बिसेको सालिकसँगै राखिएको सिलालेखमा उल्लेख छ। त्यसबेला उहाँ तिनधारे मोर्चाबाट नालदम, अजिरकोट र सिरानचोकको लडाइँमा सहभागी भएको सोही सिलालेखमा उल्लेख छ। त्यसैगरी बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भएको थिए।
स्याङ्जाको वहाबकोटमा बिसे नगर्ची चोक नै छ। यो चोकको नामबाट पनि लडाइँमा बिसेको सहभागी रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको सिलामा लेखिएको छ।
परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म वि. सं. १७४६ र मृत्यु वि.सं. १८२८ मा उल्लेख छ। यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ। बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन्। उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए। नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए।
यसैगरी गोरखा सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए । बिसेलाई विम्वमा प्रयोग गरि २०६२-२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ‘बिसे नगर्चीको बयान’ शीर्षकको कविताले निकै चर्चा पाएको थियो।
पुस्तकको प्रकाशक लिला निरौला तिम्सिना रहनुभएको छ भने दमक श्रष्टा छापाखानाले छापेको यो पुस्तक १५६ पेजको रहेको छ। नेपालका इतिहासकारहरुसँग सोधखोज गरी ४९ वटा शीर्षकमा लेखिएको तिम्सिनाले लेखेको यो १२औं खोजमूलक कृति हो।
यसअघि तिम्सिनाले टेलिफोन डायरी (२०६८ साल), मोरङको सामुदायिक वन एक चिनारी (२०६९ साल), मोरङको क्षेत्र-२ एक चिनारी (२०७० साल), पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७ साल), जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७ साल), जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८ साल), धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८ साल), इतिहासमा पथरी शनिश्चरे (२०७८), मोरङका जनप्रतिनिधि संङगालो (२०७९ साल), माइखोलादेखि पुनर्वाससम्म (२०८० साल) र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८० साल) लगायतका दर्जन पुस्तकहरु लेखिसक्नु भएको छ।
प्रतिक्रिया