काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले धर्ममा पनि व्यापारिकरण भएको बताउनु भएको छ।
नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विभिन्न नामका गुरुजीहरूले धर्म र मौलिक संस्कृतिको मर्म माथि नै प्रहार गर्ने गरेका पोखरेलले बताउनुभयो। ‘धर्म संस्कृतिको पनि व्यापारीकरण भएको छ’, उहाँले भन्नुभयो।
नेपाली संस्कृतिको जग भनेको नेपाली समाजको विविधता बिचको एकता भएको पोखरेलले बताउनुभयो। अहिले यही परम्परा माथि हमला भइरहेको उहाँको भनाइ छ। जातीय अतिवाद, धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक परम्परालाई ध्वस्त पार्न लागेको उहाँले बताउनुभयो। ‘नेपालको मौलिक संस्कृतिको महत्वलाई हामीले बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो।
नेपालको मौलिक संस्कृतिको जगले नै नेपाल कहिल्यै कसैको उपनिवेश बन्नु नपरेको उहाँले बताउनुभयो। नेपाली संस्कृति वीरताको लागि अनुकूल बनेको पोखरेलले स्पष्ट पार्नुभयो। ‘शक्ति उपासनाको परम्पराबाट हुर्किएको नेपाली आज बहादुरमा परिणत भएको छ’, उहाँले भन्नुभयो।
युवामा पलायनता, निराशा र कुण्ठा बढ्नुको कारण निर्वाहमुखी उत्पादनको ढाँचा भएको उहाँको धारणा छ। विगतमा परिवार चलाउन त्यो उपयुक्त भए पनि अब निर्वाहमुखी उत्पादन प्रणालीले जीवन नचल्ने भएकोले अवसरको खाजीको लागि युवा पलायन बढेको उहाँले प्रष्ट पार्नुभयो।
एसिया अस्थिर बनाउन चाहने शक्ति राष्ट्रले नेपालमा अस्थिरता मच्चाउन अनेक प्रयत्न गरेको पोखरेलले टिप्पणी गर्नुभयो। नेपालमा अस्थिरता मच्चाउन सक्दा एसियाका दुई ठुला मुलुक भारत र चीनमा चलखेल गर्न सकिने भएको कारण यी प्रयत्न भएको उहाँको भनाइ छ।
नेपालमा अवसर नपाएर मात्र युवा विदेश नगएका उहाँले बताउनुभयो। अरूको देखासेखीमा विदेश जान प्रचलन बढ्दै गएको पोखरेलेको धारणा छ। विदेशबाट नेपाल आउने पैसा भन्दा बढी पैसा नेपालबाट भारतीयले लैजाने गरेका बताउँदै उहाँले नेपालमा कामको प्रशस्त सम्भावना छ भन्ने कुरा यसले पुष्टि गरेको पोखरेलले बताउनुभयो।
नेपालमा चाडबाड भड्किला बन्दै गएको पोखरेलले बताउनुभयो। साउनका हरिया पहिरनदेखि सुरु हुने खर्च दशैँ, तिहार र छठसम्म पुग्दा क्लाइमेक्समा पुग्ने गरेको पोखरेलले सुनाउनुभयो। खर्च गर्ने कुरा आफैँमा खराब नभएको बताउँदै उहाँले तर के गर्दा अर्थतन्त्रको आधार विकास हुन्छ र के गर्दा अर्थतन्त्र कमजोर हुन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने पोखरेलको धारणा छ।
देश भित्रकै उत्पादन प्रयोग गर्ने गरी अर्थ गर्ने हो भने देशको अर्थतन्त्रलाई बलियो बनाउने उहाँले प्रष्ट पार्नुभयो। विदेशबाट ल्याएका सामान प्रयोग गर्ने कुरा संस्कृति विपरीतको कार्य हो भन्ने बुझाउन सक्ने हो भने देशको अर्थतन्त्र उकालो लाग्ने पोखरेलले बताउनुभयो।
आफूले गरेको उत्पादन भगवानलाई चढाउने परम्परा विकार गर्ने हो भने देशको पुँजी बाहिर नजाने उहाँले स्पष्ट पार्नुभयो । ‘आफ्नो उत्पादनको समर्पणबाट भगवान् खुसी पार्न खोजिएको हो, तर ब्राह्मणले लगाउने जनै चाइनाबाट आउन लाग्यो, अथवा इण्डियाबाट आएको सामान भगवानलाई चढाउने, के अर्थ छ र’, उहाँले भन्नुभयो।
तिज पर्वलाई संस्कृतिको माध्यमबाट जागरणको पर्व बनाउन सकिने पोखरेलले बताउनुभयो। यो पर्व समाजमा दिदी बहिनीहरू खुलेर प्रकट हुने पर्व पनि भएको उहाँको भनाई छ। ‘भेला हुने कुरा नराम्रो होइन, यसले दिदी बहिनीको आत्मबल बढाउँछ, तर हरेक चिजको सीमा हुन्छ, हरेक चिजको सीमा हुन्छ भन्ने कुरा बुझिएन भने त्यसले विकृति ल्याउँछ’, उहाँले भन्नुभयो।
सही विचारलाई सम्प्रेषण गर्न सकियो भने पर्वहरूले समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पोखरेलले बताउनुभयो। अरू सबै पर्व र कर्मको समय घटाउन लाग्दा पनि तिज भने एक महिनाभन्दा बढी मनाउने विषयमा प्रश्न उठ्न लागेको उहाँले बताउनुभयो । यसको उपयोगिता छ भने समय बढ्दा राम्रो हुने भए पनि उत्पादनको काम छाडेर महिना भरि नाचगानमा हिँड्दा त्यसले पार्ने प्रभाको बारेमा पनि सोच्नु पर्नेमा पोखरेलले जोड दिनुभयो।
प्रतिक्रिया