अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर बालेनको कार्यशैलीमा उपमेयर सुनिता डंगोलको असन्तुष्टि

मेयर बालेनको कार्यशैलीमा उपमेयर सुनिता डंगोलको असन्तुष्टि


काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीलाई लिएर उपमेयर सुनिता डंगोलले असन्तुष्टि जनाउनु भएको छ।  उहाँले बालेनको कार्यशैलीमाथि कार्यपालिका बैठकमा प्रश्न उठाउनु भएको हो।

कार्यपालिका बैठकमा उपमेयर डंगोलले नदी किनाराको २० मिटर दायाँबायाँ छाड्नुपर्ने मापदण्डका विषयलाई लिएर जनता आतंकित र त्रसित भएको महसुस गरिएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘प्रमुखजीले भनिसक्नुभएको छ, हामीले सुसूचित गराउन खोजेका हौं भनेर। सुसूचित गराउँदा पनि सूचनामा कसरी लेखिएको छ भन्ने कुरा भर पर्छ। एउटा शब्दलाई खेल्ने धेरै ठाउँहरू हुन्छन्। प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ। कार्यालय र वडामा धेरै जनता जान थालिसक्नुभएको छ।’

अदालतले गरेको आदेशलाई सम्मान गर्नुपर्ने बताउँदै उहाँले तर कसरी कार्यान्वयन गर्ने भन्नेबारे महत्वपूर्ण बताउनु भयो। प्रमुखस्तरीय निर्णय गरी सूचना प्रकाशित गरिएको भनेपछि महानगरको त्यो निर्णय हो कि होइन भन्ने कुरा पनि आएको उहाँले बताउनु भयो।

‘यस्तो संवेदनशील कुरा छ, यति धेरै जनतासँग जोडिएको विषय छ। बोर्ड बैठक बसेर छलफल नगरी प्रमुखस्तरीय निर्णय भनेर सूचना जाने? यो राम्रो पद्धती हुँदै होइन,’ उपमेयर डंगोलले भन्नुभयो, ‘अदालतले गर्ने निर्णय सधैं जनताको पक्षमा हुन्छ भन्ने पनि छैन। चित्त नबुझे अर्को कानुनी बाटो छ। हामी पो पुनरवलोकनमा जाने कि भनेर सूचना दिनुअघि नै छलफल पो गर्नुपर्थ्यो कि!’