अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले पोलिटब्यूरो बैठक जारी

च्यासलमा एमाले पोलिटब्यूरो बैठक जारी


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्यूरो बैठक जारी छ। प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक चलिरहेको छ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो। उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ। 

यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ। पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ। सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ।

साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएका छन्। यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो।