अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे


बागलुङ-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ।

आज बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार सबै ठाउँमा एकैपटक काम गर्न नसकेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण सरकार बन्ने र ढल्ने गरेकाले हाल संसद्का प्रमुख दुई पार्टीसहितको गठबन्धन सरकार बनेकाले सुशासन, विकास र समृद्धिका लागि काम हुने विश्वास दिलाउनुभयो। ‘एकातिर प्रदेश सरकारसँग स्रोतसाधनको कमी छ, अर्कोतिर राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार बदलिने समस्या छ। यसकारण पनि जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतानुसार काम हुनसकेको छैन’,उहाँले भन्नुभयो, ‘अहिले प्रदेशमा नयाँ सरकार बनेको छ, यो सरकारले नागरिकको निरासालाई चिर्नेगरी काम गर्नेछ। त्यसमा हामी एकताबद्ध भएर लागिरहेका छौँ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको हुँदा पोखरासँग सबै जिल्लालाई जोडेर पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो। प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लालाई पर्यटनसँग जोड्नका लागि गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभो।