अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने एमाले पोलिटब्युरो बैठकको निष्कर्ष

आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने एमाले पोलिटब्युरो बैठकको निष्कर्ष


काठमाडौं-नेकपा एमाले पोलिटब्युरो बैठक बुधबार सम्पन्न भएको छ। पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकले आगामी निर्वाचन एमाले एक्लै लड्ने निचोड निकालेको जानकारी दिनुभयो। बैठकले कसैको बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको उहाँले बताउनुभयो।

अबको निर्वाचनमा कुनै पनि वामपन्थी मोर्चा नबन्ने गौतमले स्पष्ट पार्नुभयो। ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो, आज पनि एक्लै चुनाव लड्छौँ, कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ’, गौतमले भन्नुभयो।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको मिसन २०८४ केन्द्रित वार्षिक कार्ययोजना माथि ५१ जना सदस्यले आफ्नो धारणा राख्नु भएको गौतमले जानकारी दिनुभयो। बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ।
नेताहरूको कामको मूल्याङ्कनको प्रणाली बनाउने र त्यसको कमिटीगत मूल्याङ्कन हुने उहाँले बताउनुभयो। नेताहरूले काम गरेनन् भन्ने विषय बैठकमा उठेको गौतमले जानकारी दिनुभयो।

एमाले र काँग्रेसका बिचमा भएको सहमति अनुसार बनेको सरकारको निरन्तरता र परिणाममा पुर्‍याउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो। मुलुकको आर्थिक अवस्थालाई लयमा फर्काउन भएका प्रयासलाई बैठकले धन्यवाद दिएको तथा संविधान संशोधनका विषयमा भएको सहमतिलाई कार्यान्वयन गरेर जाने विषयलाई बैठकले जोड दिएको गौतमले बताउनुभयो।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नीतिगत रुपमा स्पष्ट रहेको जानकारी बताउनुभएको गौतमले जानकारी दिनुभयो। एमालेका अडान र दृष्टिकोण सही छन्, नेकपा एमाले जग र जरा भएको पार्टी हो भनेर भन्नुभएको छ उहाँले’, गौतमले भन्नुभयो।

एमालेले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा सहित एमाले अघि बढेको बैठकमा ओलीले बताउनुभएको थियो। एमाले स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने निर्णायक शक्ति भएको ओलीले स्पष्ट पार्नुभएको गौतमले जानकारी दिनुभयो।
पार्टी भित्र नेताहरू नैतिकहीन, गतिहीन र चरित्रहीन भए भन्ने कुरा उठेका बताउँदै गौतमले त्यसमा ओलीले एमाले कुनै ढल नभएको कुरा स्पष्ट शब्दमा राख्नु भएको जानकारी दिनुभयो। ‘उहाँले राजनीति र इनज्वय दुवै गर्न पाइँदैन, कि राजनीति गर की इनज्वय गर भनेर भन्नुभयो’, गौतमले भन्नुभयो।